"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ईश्वरको श्राप !

प्रकाशित मिति :  २१ फाल्गुन २०७८, शनिबार १५:३९


लेकै है फूल्यो लालीगुराँस खुशीमा भयो माथि हिमाल । 

यो दुःखिको कर्मै यस्तो भएन यो मन कैलेई शित्तल ।। 

आहा… लासो …. ।


 चेर्दुङ्गको पाखा पखेरामा यसरी गीत गाउन थालेको झण्डै साठी वर्ष बित्यो क्यार । गीत गाएको उमेर मात्रै थाहा छ फुर्बालाई। उसलाई आफ्नो जन्म मिति थाहा छैन । जन्मिएको ठाँउ थाहा छैन । जन्माउने बाआमाको नाम पनि थाहा छैन । अहँ आफ्नो पारिवारिक मामिला केही पनि थाहा छैन उसलाई। 


उसलाई, मात्र चेर्दुङ्ग वरिपरिको गाउँको नाउँ थाहा छ । त्यो गाउँको एक दुई जनाको नाउँ थाहा छ । त्यो बाहेक अहँ अरु केही थाहा छैन उसलाई । यो दुनियाँ बारे केही पनि थाहा पाउने चाह  छैन उसलाई।  सायद संसार प्रतिको मोह भंग भएर पो हो कि ? 


चेर्दुङ्गको चुचुरोमा एउटा सानो मन्दिर थियो । ऊ प्रायजसो हरेक दिन त्यहाँ जान्थ्यो र उत्तर दिशामा रहेको गौरी शंकर हिमश्रृङ्खलालाई एकोहोरो हेर्न थाल्थ्यो ।   जैले हेरेपनि । जस्ले हेरेपनि । जहाँबाट हेरेपनि । यो गौरी हिमाल कहिल्यै कालो देखिँदैन । यसरी सधैंभरि कसरी सेतो भैरहन सकेको होला यो ?  हरेक वर्षको हिउँदमा रुखका पातहरू ओइलाउँछन्, झर्छन् र मर्छन् । हरिया पहाडहरू फुस्रा र उराठलाग्दो हुन्छन् । जता जे हेरेपनि सबै रुन्चे र विरक्त लाग्दा देखिन्छन् । तर यो हिमाल जहिल्यै जवान देखिन्छ । मध्यदिनको सूर्यको कान्ति झै धपक्क बलेको देखिन्छ । सूर्यमुखी फूलझैँ हरपल हाँसेको देखिन्छ । अहो ! कस्तो भाग्यमानी यो गौरी हिमाल । जसको भाग्यमा हाँसो नै हाँसोको खानी रैछ । सायद ईश्वरको वरदान पाएको हुनुपर्छ यसले ।        

ईश्वरको बरदान पाउनेले मात्रै सधैं सुख पाउँछरे । श्राप पाउनेले चाहिँ सधैं दुःख । हाय दैव ! यो कस्तो नियति तिम्रो ! आँखाभरि आँशु पारी हरेक दिन माथि आकाशतिर हेर्थ्यो ऊ ।   उसले कतै सुनेको थियो, मरेका मानिस माथि आकाशमा हुन्छन् रे ताराको रूपमा । त्यसैले हरेक साँझ माथि आकाशका ताराहरू हेरेर निक्कै टोलाउँथ्यो ऊ । सकेसम्म सबै ताराहरुलाई बोलाउने प्रयत्न गर्थ्यो तर सक्दैनथ्यो । दुई चार ताराहरूलाई बोलाउँदा बोलाउँदै अचानक थाक्थ्यो ऊ । उसलाई निक्कै भरोसा थियो । ताकि ताराको रूपमा रहेका मेरा बाआमाले मलाई अवस्य चिन्नेछन् र बोलाउने छन् भनेर । दुर्भाग्य उसको भरोसा हरेक दिन टुट्दै गयो ।    

उसको मालिक भन्थ्यो, तँलाई यहीँ कालो भिरको खोंचमा भेटेको हुँ । सालनाल सहित एउटा सानो टोकरीमा । अहो ! यो के देख्नु परेको मैले । अब त साँच्चै मानवता भन्ने चिज नै रहेनछ मान्छेमा । यस्तो निन्दनीय हरकत त पशु प्राणीले पनि गर्न सक्दैनन् । मोज गर्ने बेला को को नाठोसंग सल्क्यो , क कस्को बीउ बोक्यो । पापीहरु ! यस्ता नाथेहरु त ढुङ्गा भै जन्मे हुनेनी । आफ्नो रगतको पनि माया नहुने, उफ् ! यो के जमाना आएको ? यस्तै यस्तै सोच्दै तँलाई उठाएर काखी च्यपे मैले । 


मालिक मरेको पनि चालीस वर्ष भो आज । मर्ने बेला मालिकले भनेको थ्यो- फुर्बा यी सबै चौरी गाई तेरा भए अब । बेचौ भनेको अहँ बेच्नै मन लागेन । तँ एक्लै हुन्छस् भन्ने पीर पर्यो मलाई । अबदेखि यिनीहरू तेरो साथी भए । यिनको राम्रो ख्याल गरे है । तैंले माया गरे यिनले पनि तँलाई माया गर्छन् । तँलाई थाहा छ ? मान्छेले साथ छोड्छ तर यिनले कहिल्यै छोड्दैनन् । साह्रै निठुरी हुन्छन् मान्छेहरू । 


निक्कै राम्री जहान थिइन् रे मालिकको । खै के जाती निहुँमा झगडा गरेर हिँडिन् रे ती । त्यसपछि कहिल्यै फर्की आइनन् रे । मालिकलाई सधैं सधैंलाई एक्लो बनाएर गइन् रे ।       यो माया प्रीति र वाचा बन्धन भन्नु पनि व्यर्थ रैछ । यो चञ्चल मन हुनेहरूको अहँ केही भर हुन्न रैछ । दुःखको महासागर पो रैछ यो मन । मनलाई धेरै चलाउँछ मान्छे । मनलाई धेरै चलाएरै त दुःखले कहिल्यै नछोडेको हामीलाई । फुर्बा, भो यो मन चलाइरने मान्छेको संगत नगर तँ पनि । बरु यो पाखा पखेरालाई साथी बना । यी रुखबुट्यान अनि चरा चुरुङ्गीलाई साथी बना । यिनलाई साथी बनाउन सके त्यति साह्रो चल्दैन यो मन । शान्त मनलाई कुनै दुःख बीमार आइपर्दैन । कुनै दुःखको ताकत छैन यसलाई हल्लाउन । आँखाभरि आँशु बनाई मालिकले दिएको अन्तिम अर्तीहरु सम्झ्यो उसले ।


अब त बूढो भए मै पनि । बूढो भएपछि त आफ्नै ज्यानले पनि हेप्दो रैछ । दुःखबाट सुरु भएको जिन्दगी दुःखमै गएर अन्त्य हुँदो रैछ । यै दुःख भोग्न त जन्मिएको रैछ यो ज्यान । सुख भोग्ने भाग्य परेको भए त तारा भै जन्मन पाइन्थ्यो होला ! सधैं सधैं यो ठूलो आकाशमा चम्कन पाइन्थ्यो होला ! तर के गर्नु ! ईश्वरको श्राप लागेपछि दुःख भोग्नै पर्ने रैछ । कर्मको फल त कहाँ फ्याक्न सकिन्छ र ? 

उसले आफ्नो गोठाले दिनहरू सम्झ्यो । ती दिनमा मिठो खाजा बनाई ल्याइदिने सोल्टिनी सम्झ्यो । उनको मुहार अनी जिउडाल सम्झ्यो । उनले बोलेका तिता मीठा शब्दहरू सम्झ्यो । उनीसँग घामपानीमा रुझेको दिनहर सम्झ्यो । निक्कै माया गरी उनले फूर्बु भनी बोलाएको दिन सम्झ्यो । फुर्बु ! मलाई तेरो धेरै माया लाग्छ । माया नमारे है भनी लालीगुराँस टिपेर शिरमा सिउरिदिएको दिन पनि सम्झ्यो । मरेपछि यी सम्झनाहरु आफूसँगै लिएर जान पाए पनि त हुने । साँच्चै नै यी सम्झनाहरु लिएर जान पाईन्छ कि पाइन्न होला ? अचानक भक्कानिएर रोयो ऊ ।      

अन्तमा उसले सम्झ्यो , मेरी सोल्टिनिले मलाई किन केही नभनी यो धरती छोडेर गै ! कस्तो नियति यो दुनियाँको । अशल मान्छेहरू अकालमै मर्छन् खराब चाहिँ युगौं युग बाँच्छन् । हरे !      

मेरा बाआमाले नबोलाए पनि यिनले त बोलाउनु पर्ने नी मलाई । बाआमाले पो माया गरेनन् त । यिनले त यो आकाश जतिनै माया गरेकी थिइन त मलाई । के यतिविघ्न माया गर्ने मान्छे पनि यसरी भयानक निष्ठुरी हुन सक्छन् र ! कस्तो अकल्पनीय दुनियाँ यो । जे जसलाई हामी आफ्नो भन्छौ त्यो कहिल्यै आफ्नो हुन्न रैछ । जे जसलाई पराई भन्छौ, त्यो नै अन्तमा आफ्नो भएर उदाउँदो रैछ । आखिर हेला गर्नु केलाई छ र ?      

आ…! कस्तो यो मन पनि, जति बूढो शरीर त्यति नै कुरा खेल्छ भन्या ।
दुःखीको मनमा सधैं दुःख सुखीको मनमा के हुन्छ ?   

दुःखमै बित्यो यो जुनी, लौ अर्को जुनी के हुन्छ …… ?   

आहा… लासो… ।   

अन्तिम भाका गाउँदै तल बजारतिर आँखा घुमाउँछ फुर्बा ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मैले रचेको त्यो आधुनिक संसारमामैले तिमिलाई राख्न पाइन भने ?यदि मेरो लागि बनेको त्यो संसारमैले वस्न पाइन भनेर तिमिलेमलाई भन्यौं

त्यो मौसम, त्यो बादल, त्यो बस्ती त्यो गाउँमलाई तिम्रै मन्द मुस्कान प्यारो लाग्छ ।मिजासिलो अनुहार, घुमाउरो त्यो बस्तीमलाई घुमेको तिम्रै

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। असार ९ गते प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता

काठमाडौं । आर सी अधिकारीद्वारा लिखित ‘युवाले देखेको नेपाल’ पुस्तकको परिमार्जित नयाँ संस्करणको बजारमा उपलब्ध भएको छ ।समसामयीक विषयबस्तुमा युवाका