चिकित्सक पेशागत सुरक्षाको आन्दोलनमा नेविसंघको ऐक्यवद्धता

काठमाडौँ । देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने आन्दोलनमा ने.वि.संघ ऐक्यवद्धता जनाएको छ ।
ने.वि.संघले एक विज्ञप्ती जारी गर्दै विगत केही साता देखि देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक स्वास्थ्यकर्मी माथि स्वास्थ्य सेवा प्रदान गरिरहेका क्रममै भइरहेको कुटपिट गालीगलौज जस्ता विभिन्न घटनाहरूले नेपाल विद्यार्थी संघ स्तब्ध भएको जनाएको छ ।
कानुनी राज्यमा राज्यको उपस्थितिमा राज्यले सही गलत ठहर गरि दोषीलाई कारवाही गर्ने व्यवस्था हुन्छ तर त्यसको ठिक उल्टो अहिले नेपालमा मौलाइ रहेको गुन्डागर्दी शैलीमा कानुन आफ्नो हातमा लिएर आफै न्यायलय बनी आफै हातपात गर्ने शैली जुन बढ्दो क्रममा छ यो विषयमा राज्य गम्भीर हुन जरुरी छ । स्वास्थ्य जस्तो संवेदनशिल विषय र अहोरात्र खटेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको जीवन असुरक्षित हुँदै गर्दा काम गर्ने वातावरण नरहने जसले गर्दा आमसर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गम्भीर प्रभाव पर्ने कुरा ने.वि.संघले ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकार र गृहमन्त्रालयले यस्ता घटनाको सत्यतथ्य छानबिन गरि स्वास्थ्यकर्मी माथि हातपात गर्ने समुहलाई तुरुन्त कानुनी दायरामा ल्याइ कानुन बमोजिम कारबाही गरि देशमा कानुनी राज्यको प्रत्याभूति गराउन ने.वि.संघले माग समेत गरेको छ ।
