"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतमा सङ्क्रमण फैलिएको निपा भाइरस के हो ?

प्रकाशित मिति :  २८ भाद्र २०८०, बिहीबार १४:५७


वीवीसी । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि अधिकारीहरूले चेतावनीको सूचना जारी गरेका छन्। अधिकारीहरूका अनुसार निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना विरामीको मृत्यु भैसकेको छ। एक जनाको मृत्यु अगस्ट ३० तारिखका दिन भएको थियो भने अर्काको त्यस अघि नै।

एक जना मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ। सन् २०१८ यता केरलामा यो चौथो निपा भाइरस प्रकोप हो। विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने “जुनोटिक बिमारी” हो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ।

यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ। यो भाइरस सङ्क्रमण भएपछि कसैमा देखिने गरी लक्षणहरू देखा पर्दैनन् तर कसैमा भने सघन श्वास प्रश्वास समस्या देखा पर्छ। गम्भीर अवस्थामा सङ्क्रमण हुँदा ‘फीटल इन्सेफलाइटिस’ हुन्छ जुन मस्तिष्कलाई प्रभावित गर्ने एक गम्भीर स्वास्थ्य अवस्था हो।

उच्च मृत्यु दर तर औषधी र खोप छैन

यो भाइरस सरेका विरामीहरूमा मृत्यु दर उच्च हुन्छ किनभने यो सङ्क्रमणको उपचार गर्न औषधी या खोप उपलब्ध छैन। उपचार गर्ने भनेको लक्षणहरू हेरेर त्यसलाई कम गर्ने उपाय खोज्ने या अन्य हेरचाह गर्ने मात्र हो। भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले मङ्गलवार सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको बताए।

केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले ति मृतक दुई विरामीको सम्पर्कमा आएका १६८ जनाको पहिचान गरेर उनीहरूमा भाइरस सङ्क्रमण भएको छ कि भनेर परीक्षण भइरहेको बताइन्। राज्य सरकारले स्थिति अनुगमन गर्न कोजिकोडेमा ‘कन्ट्रोल रुम’ स्थापना गरेको र स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण ‘प्रोटोकल’ पालना गर्न भनिएको स्वास्थ्य मन्त्रीले बताइन्।

केरलाका मुख्य मन्त्री पिनाराई विजयनले भने राज्य सरकारले विरामीको मृत्युको घटनालाई असाध्यै गम्भीर रूपमा लिएको बताए। उनले मास्क लगाउन र इमर्जेन्सी परे मात्रै अस्पताल जान आग्रह गरेका छन्। उनले मृतकको सम्पर्कमा आएका सबैको भाइरस सङ्क्रमणको अवस्था जाँच्न लागिएको र आत्तिनुपर्ने अवस्था नरहेको बताए।

कोजिकोडेमा सन् २०१८ मा पहिलो पटक घातक निपा भाइरस सङ्क्रमणको प्रकोप भएको थियो। त्यसबेला १८ जना पुष्टि भएका सङ्क्रमितमध्ये १७ जनाको मृत्यु भएको थियो। सन् २०१९ मा एर्नाकुलम जिल्लामा एउटा निपा भाइरस सङ्क्रमण केस फेला परेको थियो र उनी पछि सङ्क्रमणमुक्त भएका थिए। तर सन् २०२१ मा छठमङ्गलम गाउँका एक जना १२ वर्षीय सङ्क्रमित बालकको मृत्यु भएको थियो।

रोएटर्स समाचार एजेन्सीले गरेको एक अनुसन्धानमा केरलामा भइरहेको तीव्र सहरीकरण र वन फडानीले निपा जस्ता “भाइरस वृद्धि हुन उपयुक्त वातावरण उपलब्ध भइरहेको” पाइएको रिपोर्ट प्रकाशित भएको छ। विज्ञहरू भन्छन् वासस्थान मासिएपछि जनावरहरू मानिसको नजिक पुगेका छन् र त्यसले गर्दा जनावरबाट मानिसमा भाइरस सङ्क्रमण हुन सहयोग पुर्‍याएको छ।

निपा भाइरस के हो ?

एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार निपा भाइरस पशुबाट मानिसमा सर्छ र यसले गम्भीर प्रकृतिको रोग लाग्छ। उक्त भाइरस प्राकृतिक रूपमा “फ्रूट ब्याट” जातको चमेरोमा पाइने बताइएको छ।

मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा सङ्क्रमण गराउँछ। सुरुमा यो भाइरसले श्वासप्रश्वाससम्बन्धी समस्या गराउँछ। भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई “जूनोटिक” रोगको वर्गमा राखिएको छ। प्रायः सुँगुर, बङ्गुर र फलफूल खाने चमेरोमा सङ्क्रमण भएपछि मानिसमा पनि सर्न सक्ने मन्त्रालयको भनाइ छ।

यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा सर्न सक्छ। त्यसैले कोभिड महामारीमा जस्तै मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड महत्त्वपूर्ण मानिन्छन्। सङ्क्रमित जनावरको तरल पदार्थसँग संसर्गमा आएका जुनै उमेर समूहका मानिसलाई यस्को प्रभाव पर्ने बताइएको छ।

भारतमा सङ्क्रमण फैलाउने जस्तै चमेरो नेपालमा पनि पाइने, सुँगुरपालन कृषकको रोजाइमा परेको व्यवसाय रहेको र मानिसबाट मानिसमा सर्न सक्ने हुँदा नेपाल पनि यो रोगको जोखिममा रहेको डा. शेरबहादुर पुनले यसअघि बीबीसीसँग बताएका थिए।

त्यसै कारण पनि नेपालमा भाइरस आउन सक्ने सम्भावना भएका ठाउँमा सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिँदै आएका छन्।

निपा भाइरसबारे केही तथ्य

  • मृत्यु दर ४० देखि ७५ प्रतिशत रहेको अनुमान गरिएको छ
  • भाइरस मानिसमा सुँगुर र चमेराजस्ता जनावरबाट सर्न सक्छ
  • दूषित खाद्य पदार्थबाट पनि यो भाइरस सर्न सक्छ र यो मानवबाट मानवमा पनि सर्न सक्छ
  • मानिस वा जनावरका लागि यो भाइरसबाट जोगिने उपचार वा खोप छैन
  • मानिसहरूका लागि प्राथमिक उपचार भनेकै हेरचाह हो

स्रोत : विश्व स्वास्थ्य सङ्गठन



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले १० वटा

काठमाडौं । नेपालमा पुनः कोभिड– १९ को नयाँ भेरियन्ट देखिएको छ। हाल विभिन्न देशहरूमा देखिइरहेको ‘केपी.१’ र ‘केपी.२’ नामक दुईवटा नयाँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको